Section 100
जरिबाना गर्न सक्ने
(१) यो ऐन वा राष्ट्र बैंक ऐन वा सो अन्तर्गत जारी गरेकोे नियम, विनियम, निर्देशन वा आदेश बमोजिम दिनु पर्ने जानकारी नदिने वा पेश गर्नु पर्ने कागजात तथा विवरण तोकिएको समयभित्र पेश नगर्ने वा अनुगमन, निरीक्षण वा सुपरिवेक्षण गर्दा राष्ट्र बैंक वा सो कार्यका लागि राष्ट्र बैंकबाट खटिएको कुनै अधिकारीले माग गरेको कागजपत्र, विवरण, तथ्यांक वा अभिलेख तोेकेको अवधिभित्र उपलब्ध नगराउने बैंक वा वित्तीय संस्थालाई राष्ट्र बैंकले देहाय बमोजिम जरिबाना गर्न सक्नेछः–
(क) म्याद नाघेको दुई हप्तासम्म दैनिक एकलाख रुपैयाँ,
(ख) म्याद नाघेको एक महिनासम्म दैनिक एकलाख पच्चीस हजार रुपैयाँ,
(ग) खण्ड (ख) को अवधि नाघेपछि जहिले सुकै भएपनि दैनिक एकलाख पचास हजार रुपैयाँ ।
(२) बैंक वा वित्तीय संस्थाको संस्थापक, शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य कुनै सम्बन्धित व्यक्तिले यो ऐन वा राष्ट्र बैंक ऐन वा सो अन्तर्गत जारी भएको नियम, विनियम वा दिइएको निर्देशन वा आदेश वा शर्तको उल्लंघन गरेमा वा राष्ट्र बैंकले दफा ९९ को उपदफा (३) को खण्ड (ख) बमोजिम दिएको निर्देशन कार्यान्वयन नगरेमा राष्ट्र बैंकले उल्लंघनको प्रकृति तथा गाम्भिर्य हेरी दशलाख रुपैयाँ सम्म जरिबाना गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम गरिएको जरिबानाको रकम बैंक वा वित्तीय संस्थाले निर्णयको जानकारी पाएको मितिले तीन दिनभित्र राष्ट्र बैंकलाई नबुझाएमा त्यस्तो बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकमा खोलेको खातामा रहेको रकमबाट कट्टा गरी असुल उपर गरिनेछ ।
(४) उपदफा (१) र (२) बमोजिम राष्ट्र बैंकलाई प्राप्त हुने नगद जरिबाना सरकारी कोषमा दाखिला गर्नु पर्नेछ ।